नेपाल पत्रकार महासंघ दार्चुला शाखाको वार्षिक साधारण सभा सम्पन्न
सरकारी खर्च कटौतीका विरुद्ध दार्चुलामा हस्ताक्षर अभियान सुरु
दार्चुला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाको वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। “प्रेस स्वतन्त्रताको आधार: सुरक्षित र व्यावसायिक पत्रकार“ भन्ने मूल नाराका साथ जिल्ला सदरमुकामस्थित होटल भावनाको सभाहलमा शनिबार साधारण सभा आयोजना गरिएको हो ।
शनिबार आयोजित उक्त वार्षिक साधारण सभामा जिल्लामा क्रियाशील पत्रकारहरू, सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले मोफसलमा रहेर पत्रकारिता गर्नु चुनौतीपूर्ण रहेको औंल्याउँदै श्रमजीवी पत्रकारहरूको भौतिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए ।
पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा थपिएका चुनौती र अवसरबारे छलफल गर्दै पत्रकारहरू आफैं पनि थप जिम्मेवार, निष्पक्ष र व्यावसायिक बन्नुपर्ने धारणा कार्यक्रममा व्यक्त गरियो।
बार्षिक साधारण सभाको बन्द सत्रमा महासंघका तर्फबाट संगठनको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
उक्त प्रतिवेदनहरूमाथि उपस्थित सदस्यहरूले सल्लाह–सुझाव दिँदै सर्वसम्मत रूपमा पारित गरिएको छ । महासंघका जिल्ला अध्यक्ष राजेन्द्र सिह धामीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमले दार्चुलाको पत्रकारितालाई थप सुदृढ र मर्यादित बनाउन नयाँ ऊर्जा थपेको सहभागिहरूले बताएका छन्।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र सञ्चार क्षेत्रमा भइरहेको सरकारी खर्च कटौतीको विरोधमा देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत दार्चुलामा ऐक्यबद्धतास्वरुप हस्ताक्षर अभियान सुरु गरेको छ।
जिल्ला शाखाको वार्षिक साधारण सभाको अवसर पारेर ’होटल भावना’ को सभाहलमा औपचारिक रूपमा सो हस्ताक्षर अभियान सुरु गरिएको हो । नेपाल पत्रकार महासंघ दार्चुला शाखाले सञ्चार क्षेत्र र पत्रकारहरूको हकहितका पक्षमा आवाज बुलन्द पार्नहस्ताक्षर अभियान सुरु गरिएको हो।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी अभ्यासको विरोध: प्रेसलाई सङ्कुचित पार्ने र अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने जुनसुकै कदम वा नीतिगत अभ्यासको कडा प्रतिवाद गर्ने जनाएको छ । साधारण सभामा सहभागी हुन आइपुगेका दार्चुलाका क्रियाशील पत्रकारहरू, फ्लेक्स बोर्डमा हस्ताक्षर गर्दै यस अभियानमा आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता जनाएका छन्।
