महँगी नियन्त्रण र क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणको माग गर्दै दार्चुलामा अनेरास्ववियुको ज्ञापनपत्र

प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा जोड

दार्चुला अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी दार्चुलाले बजारमा बढ्दै गएको अनियन्त्रित महँगी र हालैको प्राकृतिक विपत्तिका कारण क्षतिग्रस्त भएका विद्यालय भवनहरूको पुनर्निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापनपत्र बुझाएको छ।

अनेरास्ववियु दार्चुलाका संगठन विभाग प्रमुख खडक सिंह ठगुन्नाद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउँदै विद्यार्थी संगठनले जिल्लाको समसामयिक र संवेदनशील मुद्दाहरूमा तत्काल कदम चाल्न आग्रह गरेको हो।
ज्ञापनपत्रमा हाल बजारमा दैनिक उपभोग्य वस्तुहरू—विशेष गरी खाद्यान्न, तरकारी, ग्यास र औषधि जस्ता अत्यावश्यक सामग्रीमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। व्यापारीहरूले मनपरी मूल्य निर्धारण गर्ने, गुणस्तरहीन वस्तु बिक्री गर्ने र कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिरहेकाले सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको उल्लेख गरिएको छ।

“उच्च भन्सार दरका कारण विद्यार्थीहरूको दैनिक जीवन प्रभावित भएको छ। कम्तीमा विद्यार्थीहरूका लागि खाद्य सामग्री जस्ता अत्यावश्यक वस्तुमा भन्सार छुटको व्यवस्था गरियोस् र बजार अनुगमनलाई तीव्र पार्दै दोषी व्यापारीमाथि कडा कानुनी कारबाही गरियोस्,“ ज्ञापनपत्रमा भनिएको छ।
प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा जोड
त्यसैगरी, केही समयअघि आएको भीषण हावाहुरी र वर्षाका कारण जिल्लाका विभिन्न विद्यालय भवनहरूमा ठुलो क्षति पुगेको विषयलाई पनि अनेरास्ववियुले प्रमुखताका साथ उठाएको छ। प्राकृतिक विपत्तिले विद्यालयका कक्षाकोठा, छाना र झ्यालढोकामा गम्भीर क्षति पुर्‍याउँदा विद्यार्थीहरूको पठनपाठन पूर्ण रूपमा प्रभावित भएको संगठनले जनाएको छ।

मनसुन (वर्षायाम) नजिकिँदै गर्दा संवेदनशील शैक्षिक संस्थाहरूको भौतिक संरचना कमजोर हुनुले विद्यार्थीहरूको सुरक्षा समेत जोखिममा परेको भन्दै ज्ञापनपत्रमा भनिएको छ ।  क्षतिग्रस्त विद्यालय भवनहरूको तत्काल स्थलगत निरीक्षण गर्न माग गरिएको छ । यस्तै मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक बजेट र राहत तुरुन्त उपलब्ध गराउन आग्रह गरिएको छ ।

विद्यार्थीहरूको पढाइ अवरुद्ध हुन नदिन वैकल्पिक व्यवस्था मिलाउन र दीर्घकालीन संरक्षण योजना तयार गर्न ज्ञापनपत्रमा भनिएको छ । अनेरास्ववियु दार्चुलाले यी जनसरोकारका र शैक्षिक क्षेत्रका गम्भीर मुद्दाहरूमा प्रशासनले तत्काल ध्यान नदिए थप कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

Leave A Reply

Your email address will not be published.