दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले आफ्ना मातहतका विद्यालयहरूमा आइतबार दिइँदै आएको सार्वजनिक बिदा खारेज गरी नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक आधिकारिक पत्र जारी गर्दै आगामी आइतबारदेखि नै विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।
नेपाल सरकारले परीक्षणका रूपमा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय लागू गरेसँगै यस गाउँपालिकाका शैक्षिक संस्थाहरूमा पनि आइतबार सार्वजनिक बिदा दिइँदै आएको थियो।
तर, दुई दिने बिदाका कारण विद्यालयमा हुनुपर्ने आवश्यक शिक्षण सिकाइ कार्य दिन र समय अपुग भएको, स्थानीय भौगोलिक अवस्थिति जटिल रहेको तथा हिउँदको समयमा मौसमका कारण विद्यालय नियमित गर्न नसकिने विषम परिस्थितिलाई मध्यनजर गर्दै गाउँपालिकाले यो कदम चालेको हो।
गाउँ कार्यपालिकाको मिति २०८३ जेठ ३ गते बसेको बैठकको निर्णयानुसार हाल कायम रहेको आइतबारको बिदा स्थगित गर्ने निर्णय भएको हो। शिक्षा शाखा अधिकृत वीरेन्द्र सिंह साउदद्वारा हस्ताक्षरित पत्रमा गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूलाई आगामी आइतबारदेखि नै अनिवार्य रूपमा नियमित पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
