मन्त्रालयको नामबाट ‘जेष्ठ नागरिक’ शब्द हटाइएको प्रति जेष्ठ नागरीक संघ दार्चुलाको आपत्ति

दार्चुला । सरकारले मन्त्रालयको नाम हेरफेर गर्दा ‘जेष्ठ नागरिक’ शब्द हटाएको भन्दै जेष्ठ नागरीक संघ दार्चुलाले गम्भीर आपत्ति जनाएको छ। मन्त्रिपरिषद्को निर्णयबाट साविकको ’महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय’ को नाम फेरबदल गरी ’जेष्ठ नागरिक’ शब्द हटाइनु जेष्ठ नागरिकहरूको अपमान भएको ठहर गर्दै संघले विरोध जनाएको हो।

जेष्ठ नागरिक जिल्ला संघ दार्चुलाका उपाध्यक्ष लक्ष्मी दत्त जोशीको अध्यक्षतामा बसेको बैठकले सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराउँदै मन्त्रालयको नाममा पुन: ’जेष्ठ नागरिक’ शब्द समावेश गर्न माग गरेको छ।

बैठकको निर्णय अनुसार, जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पारित गर्दै बुधबार आज सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामी लाई ज्ञापनपत्र समेत बुझाइएको छ।

महासंघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “मन्त्रालयको साविकको नामबाट महिला बालबालिका शब्द यथावत राखी जेष्ठ नागरिक शब्द मात्रै हटाई अन्य नाम समावेश गरिएको देखिँदा यसले सरकारले जेष्ठ नागरिकको ज्ञान, सीप, त्याग, अनुभव आदिलाई अवमूल्यन गरेको महसुस हुन्छ।

“ संघले पछिल्लो राष्ट्रिय जनगणनाको तथ्याङ्कलाई समेत उद्धृत गर्दै देशको महत्त्वपूर्ण हिस्सा ओगटेका जेष्ठ नागरिक, महिला, बालबालिका तथा अन्य अल्पसंख्यकहरूको संवेदनशीलतालाई बुझेर मन्त्रालयको नाम यथावत राख्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।

Leave A Reply

Your email address will not be published.