राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शैल्यशिखर नगरपालिकाको प्रथम नगर अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनबाट हरिभक्त ओझाको सभापतित्वमा १५ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा चयन गरिएको जिल्ला उपसभापति सुरेन्द्र बहादुर खडायतले जानकारी दिए।
नवनिर्वाचित समितिको उपसभापतिमा हरी सिंह धामी, सचिवमा भुवन बहादुर पाल, सहसचिवमा भुरी कामी तथा कोषाध्यक्षमा चन्द्र राम लोहार चयन भएका छन्। यस्तै सदस्यहरूमा डम्मरे खडायत, भागरती देवी गोयला, सुना देवी लोहार, जानकी भट्ट, नारा देवी ओझा, सन्तोष रावल, सुलिन विष्ट, राजेन्द्र ठगुन्ना, लालमनी खडायत र बुद्धिबल जोशी रहेका छन्।
अधिवेशनका क्रममा नगर पार्टी कार्यालयको उद्घाटन, RAT समिति गठन, संगठन विभाग चयन तथा अधिवेशन प्रतिनिधिहरूको चयन समेत सम्पन्न भएको नगर सभापति हरिभक्त ओझाले बताए। उनले नवगठित समितिले पार्टीको संगठन विस्तार, जनसरोकारका विषय उठान तथा स्थानीय तहमा रास्वपाको प्रभावकारी उपस्थिति सुदृढ गर्न सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अधिवेशनले संगठन सुदृढीकरण, नेतृत्व विकास तथा आगामी राजनीतिक गतिविधिका लागि महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन्।
रास्वपा दार्चुलाका जिल्ला सभापति राजेश सिंह सामन्तका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेका छन्।