दार्चुला । दार्चुलाको बहुप्रतीक्षित गोकुलेश्वर विमानस्थलका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा केवल १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। संघीय सरकारले सार्वजनिक गरेको बजेटमा विमानस्थललाई समेटिए पनि विनियोजित रकम न्यून भएपछि स्थानीयवासी र सरोकारवालाहरूले निराशा व्यक्त गरेका छन्।
दार्चुलाको दुर्गम क्षेत्रलाई हवाई सेवासँग जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको गोकुलेश्वर विमानस्थल निर्माण तथा सञ्चालनको चर्चा वर्षौंदेखि हुँदै आएको छ।
तर आवश्यकताअनुसार पर्याप्त बजेट नपाउँदा यसको निर्माण तथा स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन।
यसअघि पनि विमानस्थल निर्माण तथा स्तरोन्नतिका लागि करोडौँ रुपैयाँ बजेट विनियोजन गरिए तापनि कामले पूर्णता पाउन सकेको छैन।
२०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० सालदेखि बन्द रहेको छ । २०६० देखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ । बन्द भएको तीन दशकभन्दा बढी बितेपछि विमानस्थलको भवन भग्नावशेषमा परिणत भएको छ भने पक्की गर्नुपर्ने विमानस्थल खेल मैदान र गौचरनमा परिणत भएको छ ।
स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूले गोकुलेश्वर विमानस्थललाई सञ्चालनमा ल्याउन पर्याप्त बजेट आवश्यक रहेको बताउँदै १ करोड रुपैयाँले सामान्य मर्मत तथा प्रशासनिक कामबाहेक ठूला संरचनागत काम गर्न नसकिने बताएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा विमानस्थल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट ५० करोड ४९ लाख ४९ हजार बजेटको सुनिश्चित गरिएको थियो ।
त्यसपछि बहुवर्षीय ठेक्का भएर २०७८ सालमा तीन करोड ५८ लाखमा फिलिङ र ग्याबिनको काम सम्पन्न गर्ने गरेर केएस कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो ।
सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलामा सडक सञ्जाल वर्षायाममा बारम्बार अवरुद्ध हुने भएकाले हवाई सेवा अत्यन्त आवश्यक मानिन्छ। तर बजेटको न्यूनताले विमानस्थल सञ्चालनको सपना अझै लम्बिने संकेत देखिएको छ।
स्थानीयवासीले सरकारले बजेट भाषणमा दुर्गम क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको दाबी गरे पनि गोकुलेश्वर विमानस्थलमा गरिएको न्यून बजेट विनियोजनले त्यसको व्यवहारिक पक्षमाथि प्रश्न उठाएको बताएका छन्।