दार्चुला । मालिकार्जुन गाउँपालिकाको पहल तथा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको विशेष सिफारिसमा गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तीन वटा बृहत् खानेपानी आयोजना स्वीकृत भई स्रोत सुनिश्चित भएको छ।
ग्राभिटी तथा लिफ्टिङ प्रविधिमार्फत सञ्चालन हुने यी आयोजनाबाट मालिकार्जुन गाउँपालिकाका ८० प्रतिशतभन्दा बढी घरधुरीमा सुरक्षित खानेपानीको पहुँच पुग्ने अपेक्षा गरिएको छ।
स्वीकृत भएका आयोजनामध्ये शंकरपुर–हुनैनाथ बृहत् खानेपानी आयोजना, हनैनाथ खानेपानी आयोजना तथा मौतामौति, मलबावा, तल्लोरौला, भौतडी, मालिकार्जुन तल्ला गाउँ, भराडीघर र सुगरखाली समेट्ने बृहत् खानेपानी आयोजना रहेका छन्।
गाउँपालिकाले लामो समयदेखि खानेपानी समस्याबाट प्रभावित बस्तीहरूलाई लक्षित गरी योजना अघि बढाएको जनाएको छ। आयोजना कार्यान्वयनमा आएपछि स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएको खानेपानी अभावको समस्या समाधान हुने विश्वास गरिएको छ।