दार्चुला । महाकाली नगरपालिका स्वास्थ्य शाखाले डेंगीको लार्भा खोज तथा नष्ट गर्ने अभियान सुरु गरेको छ।
स्वास्थ्य शाखाले सरोकारवालासँगको अभिमुखिकरण कार्यक्रमपछि आइतबारदेखि नगरपालिकाका विभिन्न क्षेत्रमा अभियान सञ्चालन गरेको हो।
अभियान विशेषगरी वडा नम्बर ४ र ५ का बजार क्षेत्रलाई केन्द्रमा राखेर सञ्चालन गरिएको छ। महाकाली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अनमी लालजिरा रावतले वडा नम्बर ४ र ५ मा चार वटा टोली परिचालन गरिएको जानकारी दिए।
अभियानमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, नगर प्रहरी, रेडक्रस तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।
आइतबारदेखि सुरु गरिएको अभियानअन्तर्गत सिनियर अनमी हरिदेवी खत्रीको नेतृत्वमा खटिएको ७ सदस्यीय टोलीले पहिलो दिन वडा नम्बर ५ को बाँगाबगड क्षेत्रमा १८० घरधुरीमा रहेका पानीका ट्यांकी तथा पानी जम्ने स्थानहरूको अनुगमन गरेको जानकारी दिए।
अनुगमन गरिएका १८० घरधुरीमध्ये ६ घरमा डेंगी सार्ने एडिस जातको लामखुट्टेको लार्भा तथा लामखुट्टे भेटिएको आधारभूत स्वास्थ्य केन्द्र बाँगाबगडमा कार्यरत सिनियर अनमी तथा टोली प्रमुख हरिदेवी खत्रीले जानकारी दिए।
लार्भा तथा लामखुट्टे भेटिएका स्थानमा पानीका ड्रम खाली गराई सरसफाइ गरिएको उनले जानकारी दिए। साथै सम्बन्धित घरधनीलाई डेंगी संक्रमण, यसको लक्षण तथा बच्ने उपायबारे समेत जानकारी गराइएको जानकारी दिए।
वर्षायाममा घाम लाग्ने र पानी पर्ने अवस्थाले लामखुट्टे प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले साउन, भदौ र असोजमा डेंगी संक्रमण बढी देखिने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
डेंगी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। स्वास्थ्यकर्मीहरूले बिहान र बेलुकाको समयमा लामखुट्टे सक्रिय हुने भएकाले घर वरिपरि पानी जम्न नदिन, शरीर पूरै ढाक्ने कपडा लगाउन र सुत्दा झुल प्रयोग गर्न आग्रह गरेका छन्।