प्रधानमन्त्री साहको भिडियोपछि चर्चामा अपि बेस क्याम्प, पर्यटक आगमन दोब्बर हुने अपेक्षा

दार्चुला । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक भिडियोपछि दार्चुलास्थित अपि बेस क्याम्प राष्ट्रियस्तरमै चर्चाको केन्द्र बनेको छ।

भिडियो व्यापक रूपमा भाइरल हुन थालेसँगै उक्त क्षेत्रप्रति आन्तरिक तथा बाह्य पर्यटकहरूको चासो उल्लेखनीय रूपमा बढेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहराका अनुसार पछिल्लो समय अपि बेस क्याम्पबारे जानकारी लिने, भ्रमण योजना बनाउने तथा पदयात्रासम्बन्धी विवरण खोज्नेहरूको संख्या बढ्दो क्रममा रहेको छ। उनले यस वर्ष अपि क्षेत्र भ्रमण गर्ने पर्यटक संख्या करिब ५ हजारबाट बढेर १० हजार पुग्न सक्ने अपेक्षा व्यक्त गरे।

नेपालकै आकर्षक हिमाली गन्तव्यमध्ये एक मानिने अपि बेस क्याम्प प्राकृतिक सौन्दर्य, मनोरम हिमशृङ्खला, दुर्लभ जैविक विविधता तथा साहसिक पदयात्राका लागि परिचित छ। समुद्री सतहबाट ७,१३२ मिटर उचाइमा रहेको अपि हिमालको काखमा अवस्थित यो क्षेत्र सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ।

स्थानीयका अनुसार अपि क्षेत्रमा पर्यटनको उच्च सम्भावना भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा अपेक्षाअनुसार पर्यटक भित्र्याउन सकिएको थिएन। तर प्रधानमन्त्री शाहले सार्वजनिक गरेको भिडियोपछि सामाजिक सञ्जालमा अपि बेस क्याम्पको सौन्दर्यबारे व्यापक चर्चा हुन थालेको छ।

स्थानीय पर्यटन व्यवसायीहरूले पनि यसलाई दार्चुलाको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। सामाजिक सञ्जालको प्रभावले देशभरका पर्यटकको ध्यान अपि क्षेत्रतर्फ आकर्षित भएको भन्दै उनीहरूले आगामी दिनमा पर्यटक पूर्वाधार विस्तार र सेवाको गुणस्तर सुधारमा जोड दिएका छन्।

Leave A Reply

Your email address will not be published.