दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ स्थित सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामीको मृत्यु प्रकरणमा पक्राउ परेका ८ जनालाइ नै पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत दार्चुलाका न्यायाधिस भुवन गिरीको एकल इजलासले शुक्रबार ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । न्यायाधिस गिरीका अनुसार तत्कालका लागि ८ जनालाइ नै पुर्पक्षका लागि कारागार चलान गरिएको र अन्तिम फैसला भने बाकी प्रमाण र साक्षी बुझ्ने कार्य सकिएपछि हुने छ ।
शुक्रबार कारागार चलान हुनेमा महाकाली नगर पालिका वडा नम्बर १ का ३२ वर्षीय विक्रम सिंह कुँवर, ५२ वर्षीय दलजित भट्ट, ४२ वर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ वर्षीय परमानन्द भट्ट, ३१ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्र दत्त भट्ट, ५६ वर्षीय हरिदत्त भट्ट तथा बैतडीको पाटन नगरपालिका ४ का ४० वर्षीय पुष्करराज भट्ट रहेका छन् । प्रधानाध्यापक धामीले गत जेठ ४ गते सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेख्दै बिद्यालयमा नै मृत फेला परेका थिए।