दार्चुला । लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका खोपहरु पाएको प्रमाणीकरण भएपछि दार्चुलाको महाकाली नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनामुनीका बालबालिका सबै खोपको पहुँचमा आएकाले विहीबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिसविरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्णखोप पाएको मानिन्छ ।
महाकाली नगरपालिकाका प्रमुख एवम् खोप समन्वय समितीका अध्यक्ष नरसिह चैसिरले समृद्ध महाकाली निर्माणका लागि सबैभन्दा महत्त्वपूर्ण विषय स्वास्थ्य भएको उल्लेख गर्नुहुँदै कुनै पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनेतर्फ सबै सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
पूर्णखोप सुनिश्चितता निरन्तरता कायम राख्नका लागि नगर उपप्रमुख दुर्गा विष्टखत्रीसहित कार्यक्रममा उपस्थित सबैले प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो । खोप कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।
नेपालको संविधानको धारा ३५ र स्थानीमय सरकार सञ्चालन ऐन, ०७४ ले नै प्रत्येक बालबालिकालाई पूर्णखोप पाउनैपर्ने कानुनी व्यवस्था गरेको र विश्व स्वास्थ्य सङ्गठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्णखोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ मा गाउँपालिका, नगरपालिकाको काम, कर्तव्य र अधिकार तथा वडा समितिको काम, कर्तव्य र अधिकारभित्र आधारभूत स्वास्थ्य सेवाअन्तर्गत खोप सेवा सञ्चालनको व्यवस्था गरेको छ ।