दार्चुला । दार्चुला सदरमुकाम खलङ्गास्थित धौलीगाड खोलामा निर्माणाधीन पक्की पुल १३ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। आर्थिक वर्ष २०७०/७१ मा सुरु भएको पुल निर्माण जग्गा विवाद, मुआब्जा समस्या र मूल्य समायोजनको विवादका कारण अझै अलपत्र अवस्थामा रहेको छ।
खलङ्गा–गोकुलेश्वर मुख्य सडकअन्तर्गत पर्ने उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ कुनै काम हुन नसकेपछि फिर्ता भएको छ।
सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी एवं इन्जिनियर कपिलप्रसाद पन्तका अनुसार पुल निर्माणका लागि छुट्याइएको बजेट खर्च हुन नसके पनि क्रमागत योजनाअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ।
हाल पुलको बायाँतर्फको पिल्लर करिब ७० प्रतिशत निर्माण भए पनि बाँकी संरचना अधुरै छ। धनगढीस्थित आशिष कन्स्ट्रक्सनसँग २०७०/७१ मा दुई करोड ३२ लाख रुपैयाँमा सम्झौता गरी निर्माण सुरु गरिएको थियो। तर, पुल निर्माण हुने महाकाली नगरपालिका–५ गल्फै क्षेत्रका आठ जना जग्गाधनीले सरकारी मूल्यअनुसार मुआब्जा माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि निर्माण कार्य रोकिएको थियो।
गत माघ महिनामा जग्गाधनीले मुआब्जा पाए पनि निर्माण भने पुनः सुरु हुन सकेको छैन। सडक विभागले पुरानै सम्झौता रकममै काम गर्न आग्रह गरेपछि निर्माण व्यवसायीले लागत अत्यधिक बढिसकेको भन्दै काम गर्न अस्वीकार गरेका हुन्।
निर्माण व्यवसायी टेकबहादुर सेठीले मूल्य समायोजन नभएसम्म काम अघि बढाउन नसकिने बताए। उनले मूल्य समायोजनको माग गर्दै सडक विभागअन्तर्गतको मध्यस्थकर्ता निकायमा उजुरी दर्ता गरिएको जानकारी दिए।
यसैबीच, पुलको बाँकी संरचना निर्माणका लागि खनिएको खाल्डो दुर्घटनाको जोखिम हुन सक्ने भएकाले पुरिएको निर्माण व्यवसायीले जनाएको छ। सडक डिभिजन कार्यालय बैतडीका इन्जिनियर किरण सुवेदीका अनुसार निर्माण व्यवसायीको उजुरीमाथि निर्णय हुन अझै केही समय लाग्नेछ।
धौलीगाड पुल निर्माण सम्पन्न नहुँदा वर्षायाममा खोला वारपार गर्न स्थानीयवासी तथा छोटो र लामो दूरीका सवारीसाधन चालकले सास्ती खेप्दै आएका छन्। स्थानीयले लामो समयदेखि अलपत्र परेको पुलको निर्माण शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।