दार्चुला । नेकपा एमाले दार्चुलाका पूर्व जिल्ला कमिटी अध्यक्ष तथा नौगाड गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमसिंह धामीले पार्टी परित्यागको घोषणा गरेका छन्।
धामीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नेकपा एमाले परित्याग गरेको जानकारी दिएका हुन्।
केन्द्रमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच प्रदेश सरकार गठन तथा सहकार्यका विषयमा तीनबुँदे सहमति सार्वजनिक भएकै दिन धामीले पार्टी परित्यागको घोषणा गरेका हुन्।
सञ्जाल फेसबुकमार्फत उनले कम्युनिस्ट पार्टीको साधारण सदस्य समेत नहरने गरी पार्टी परित्याग गरेको बताएका छन् ।
केही समय पहिलेदेखि पार्टीसँग असन्तुष्ट रहँदै आएका धामीले पार्टीले जेन–जी आन्दोलनको मर्मअनुसार संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गदैँ आएका थिए ।
धामीको पार्टी परित्यागलाई दार्चुलाको एमाले राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। यद्यपि, उनले अब कुन राजनीतिक यात्रामा अघि बढ्ने भन्नेबारे भने कुनै जानकारी सार्वजनिक गरेका छैनन्।
प्रभावशाली जिल्ला नेताको बहिर्गमनले दार्चुलामा एमालेको संगठन र आगामी निर्वाचनको तयारीमा समेत असर पार्न सक्ने देखिएको छ ।