अपि हिमाल पर्यटन महोत्सव आजदेखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुला । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ।

अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपि हिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपि हिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ।

अपि हिमाल, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी गुफा, मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल तथा विशाल पाटन यस क्षेत्रका प्रमुख पर्यटकीय आकर्षण हुन्। प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गरी स्थानीयको आयआर्जन र रोजगारी बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले महोत्सव मनोरञ्जन र सांस्कृतिक कार्यक्रमको आयोजनामा मात्र सीमित नभइ अपि हिमालको पहिचान बाहिरी संसारसम्म पुर्‍याउने अभियान भएको बताए। पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने र युवालाई गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने गाउँपालिकाको लक्ष्य रहेको उनको भनाइ छ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा सांस्कृतिक झाँकी, साहित्यिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता, योग, ध्यान र जलवायु परिवर्तनसम्बन्धी संवादलगायत कार्यक्रम समावेश गरिएका छन्।

महोत्सवमा सहभागी हुने पर्यटकका लागि आवास, सूचना, स्वास्थ्य र सुरक्षासम्बन्धी व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।

महोत्सवलाई स्थानीय उत्पादनको बजार विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ। पर्यटकको आगमन बढेसँगै होमस्टे, होटल, कृषि उत्पादन, हस्तकला तथा घरेलु उद्यमले बजार पाउने स्थानीय उद्यमी तथा व्यवसायीको अपेक्षा छ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यसअघि वार्षिक पाँच हजारभन्दा बढी पर्यटक आउने गरेको विवरणका आधारमा पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य लिइएको हो।

तर महोत्सवका तीन दिनमा मात्र पर्यटकको चहलपहल बढाएर अपेक्षित उपलब्धि हासिल नहुने भएकाले वर्षभरि पर्यटक आकर्षित गर्ने पूर्वाधार, आवास, सूचना तथा सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने चुनौती गाउँपालिकासामु छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.