दार्चुलाका १० विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन पूर्वाधार निर्माण, किशोरीका लागि एमएचएम कर्नर स्थापना
दार्चुला । जिल्लाका १० वटा माध्यमिक विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन (एमएचएम) सम्बन्धी पूर्वाधार निर्माण तथा प्रबर्द्धनात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज (सीआरडीएस) नेपाल, दार्चुलाको सहजीकरणमा सञ्चालित ‘अवसर’ परियोजनाअन्तर्गत जिल्लाका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माण तथा प्रबर्द्धनात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।
किशोरीहरूलाई महिनावारीको समयमा पनि नियमित विद्यालय उपस्थित हुन प्रोत्साहन गर्दै उनीहरूको सिकाइ उपलब्धि सुदृढ बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको परियोजनाले जनाएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको एमएचएम पूर्वाधार व्यवस्थापन मापदण्डअनुसार स्थानीय समुदाय र सम्बन्धित गाउँपालिकासँगको साझेदारीमा विद्यालयहरूमा शौचालय मर्मत, खानेपानी ट्याङ्की जडान, इन्सिनरेटर निर्माण तथा एमएचएम कर्नर स्थापना गरिएको परियोजनाले जनाएको छ ।
किशोरी क्लबद्वारा सञ्चालन भएका कार्यक्रमसँग समन्वय गर्दै सम्भाव्यता अध्ययनका आधारमा पूर्वाधार सुधार गरिएको हो । कार्यक्रमअन्तर्गत मालिकार्जुन गाउँपालिकाका राष्ट्रिय माध्यमिक विद्यालय ठीङ, सरस्वती माध्यमिक विद्यालय उकु, सरस्वती माध्यमिक विद्यालय सेलिचामा, मालिकार्जुन माध्यमिक विद्यालय मड,शंकरपुर माध्यमिक विद्यालय पस्ती, डिन्सी माध्यमिक विद्यालय डिन्सी रकृष्ण माध्यमिक विद्यालय डाँडाकोट तथा दुहुँ गाउँपालिकाका पिपलचौरी माध्यमिक विद्यालय विण, धारीपाटा माध्यमिक विद्यालय धारी र गणेश माध्यमिक विद्यालय सीमलीमा आवश्यकताअनुसार शौचालय मर्मत, नयाँ शौचालय निर्माण, सेप्टिक ट्याङ्की निर्माण, खानेपानी व्यवस्थापन, टायल तथा रङरोगन, छत ढलान र इन्सिनरेटर निर्माण तथा मर्मतलगायतका पूर्वाधार सुधारका कार्य सम्पन्न गरिएका छन्।
भौतिक पूर्वाधार सुधारसँगै सबै १० विद्यालयमा एक–एक वटा ‘एमएचएम कर्नर’ पनि स्थापना गरिएको छ। महिनावारी वा अन्य स्वास्थ्य समस्याका कारण असहज महसुस गर्ने छात्राहरूले केही समय आराम गरेर पुन: कक्षामा सहभागी हुन सकून् भन्ने उद्देश्यले कर्नरमा आवश्यक सामग्री उपलब्ध गराइएको छ।
प्रत्येक एमएचएम कर्नरमा काठको खाट, डसना, सिरानी, तन्ना, कम्बल, पानी तताउने जग, प्राथमिक उपचार बाकस, सामग्री राख्ने स्टिल दराज, तराजु, थर्मोमिटर, हट वाटर ब्याग, कुर्सी, टेबल, पानी पिउने गिलास, पानीको बोतल तथा भित्ते घडीलगायत सामग्री हस्तान्तरण गरिएको छ।
परियोजनाका अनुसार यस पहलले महिनावारीका कारण किशोरीहरू विद्यालयबाट अनुपस्थित हुने अवस्थालाई न्यूनीकरण गर्दै उनीहरूको नियमित पठनपाठन, स्वास्थ्य सुरक्षा तथा शैक्षिक उपलब्धि अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
