निङ्गलाशैनी सहकारीको सम्पत्ति ६० करोड पुर्याउने लक्ष्य
१ हजार ५ सय नयाँ सदस्य थप्ने, घरदैलोमै सेवा दिने योजना
कञ्चनपुर ।
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा १ हजार ५ सय नयाँ सदस्य थप गर्दै संस्थाको कुल सम्पत्ति ६० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।
संस्थाको हाल ४५ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । आगामी वर्ष सदस्य विस्तार, नियमित बचत संकलन, खराब ऋण असुली तथा वित्तीय साक्षरतालाई प्राथमिकतामा राख्दै सम्पत्ति १५ करोड रुपैयाँले वृद्धि गर्ने लक्ष्य राखिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेमसिंह भाटले जानकारी दिनुभयो ।
संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को समीक्षा तथा २०८३÷०८४ को नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न श्रावण २३ र २४ गते शालिनी बाटिका एण्ड इको रिसोर्टमा दुई दिने कार्यशाला सम्पन्न भएको हो । संस्थाका अध्यक्ष डम्बरदत्त भट्टको अध्यक्षता तथा नेफ्स्कुनका पूर्व कार्यकारी प्रमुख एवं सहकारी विज्ञ कुबेर निरौलाको प्रशिक्षणमा कार्यशाला सञ्चालन गरिएको थियो ।
कार्यशालामा संस्थाका सञ्चालक समिति, लेखा समिति, धितो मूल्यांकन समिति, ऋण समिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा खराब ऋण असुलीका लागि कानुनी प्रक्रिया अघि बढाउने, सम्पत्ति शुद्धीकरण ऐन कार्यान्वयन गर्ने, सदस्यबाट नियमित बचत संकलन गर्ने तथा वित्तीय साक्षरता र सहकारी शिक्षा विस्तार गर्ने विषयमा छलफल गरिएको थियो ।
संस्थाका उपाध्यक्ष पवनचन्द्र लेखकका अनुसार अन्तर्राष्ट्रिय सहकारीका सात सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्दै सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ । सहकारीमा सुशासन, पारदर्शिता र जवाफदेहिता बढाउने गरी आगामी नीति तथा कार्यक्रम अघि बढाइने उहाँले बताउनुभयो ।
त्यस्तै, जोखिम व्यवस्थापन र अन्तरसहकारी सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकारीका सञ्चालक तथा कर्मचारीका लागि सामूहिक शिक्षा र तालिम सञ्चालन गर्ने योजना रहेको संस्थाकी प्रबन्धक बबिता चन्दले बताउनुभयो ।
यसपटकको समीक्षा तथा योजना तर्जुमाका क्रममा सञ्चालक, कर्मचारी र शेयर सदस्यका लागि छुट्टाछुट्टै आचारसंहिता समेत निर्माण गरिएको संस्थाले जनाएको छ । आचारसंहिताले संस्थाभित्रको अनुशासन, जिम्मेवारी र जवाफदेहितालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सदस्यलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन ७ किलोमिटरभित्र रहेका सेवा केन्द्रलाई एकीकृत गर्दै घरदैलोमै सेवा पुर्याउने योजना समेत संस्थाले अघि सारेको छ । त्यसका लागि फिल्ड कर्मचारीलाई थप जिम्मेवार बनाइने र सदस्यले ऋणसम्बन्धी कामका लागि मात्र संस्थामा आउनुपर्ने व्यवस्था मिलाइने प्रमुख कार्यकारी अधिकृत भाटले बताउनुभयो ।
