दार्चुलामा डेंगु संक्रमण घटे पनि जोखिम कायमै, खोज तथा नष्ट अभियान सञ्चालन गरिने

दार्चुला । दार्चुलामा डेंगु संक्रमणको दर पछिल्ला वर्षमा घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै लामखुट्टेको बासस्थान खोज तथा नष्ट अभियान सञ्चालन गरिने भएको छ।

स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ देखि चालु आर्थिक वर्ष २०८३/८४ सम्म जिल्लामा १८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा सबैभन्दा धेरै १०३ जनामा डेंगु संक्रमण देखिएको थियो। त्यसमध्ये महाकाली नगरपालिकामा मात्रै ९३ जना संक्रमित भएका थिए।

आर्थिक वर्ष २०८१/८२ मा संक्रमण घटेर ४३ जनामा पुगेको थियो। उक्त वर्ष महाकाली नगरपालिकामा ३१, शैल्यशिखर नगरपालिकामा ६ र मालिकार्जुन गाउँपालिकामा ६ जनामा संक्रमण देखिएको थियो।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ३७ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये महाकालीका २७, व्याँसका पाँच, मार्माका दुई र शैल्यशिखरका तीन जना रहेका थिए।

चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म तीन जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमध्ये महाकाली, व्याँस र मालिकार्जुनका एक–एक जना रहेका छन्।

संक्रमणको संख्या घट्दै गए पनि डेंगुको जोखिम पूर्ण रूपमा नहटेकाले लामखुट्टेको प्रजननस्थल पहिचान गरी नष्ट गर्ने तथा समुदायस्तरमा सचेतना फैलाउने अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.