हप्ताको दुई दिन सार्वजनिक बिदा खारेज गर्न पूर्वाधारमन्त्रीलाई मालिकार्जुनको आग्रह

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले हप्तामा दिइँदै आएको शनिबार र आइतबारको दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग आग्रह गरेको छ।

सुदूरपश्चिम प्रदेशमा पूर्वाधार निर्माणको अवस्थाबारे अनुगमनका लागि दार्चुला पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय पुनरावलोकन गर्न आग्रह गरेको हो।

मन्त्री लम्साल सदरमुकाम खलङ्गा जाने क्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, उपाध्यक्ष कल्याण सिंह धामी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताको उपस्थितिमा गाउँपालिकाले आफ्ना मागसहितको पत्र बुझाएको थियो।

गाउँपालिकाले सरकारको इन्धन तथा विद्युत खर्चमा मितव्ययिता कायम गर्ने नीतिको सम्मान गर्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको भए पनि यसबाट विद्यार्थीको पठनपाठन प्रभावित भएको जनाएको छ।

पत्रमा दुई दिन बिदा हुँदा विद्यालय तथा कलेजमा पाठ्यक्रम पूरा गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको नियमित पढ्ने बानी र सिकाइको गति प्रभावित भएको उल्लेख गरिएको छ। बिदापछि बाँकी दिनमा हतार–हतार पढाउनुपर्ने अवस्था सिर्जना हुँदा विद्यार्थी र शिक्षक दुवैमा मानसिक तनाव बढेको तथा प्रयोगात्मक कक्षा र अतिरिक्त क्रियाकलापसमेत प्रभावित भएको गाउँपालिकाको भनाइ छ।

विद्यार्थीको भविष्य र देशको शैक्षिक गुणस्तरलाई ध्यानमा राख्दै शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था तत्काल खारेज गरी साविककै व्यवस्थाअनुसार विद्यालय तथा कलेज सञ्चालन गर्ने वातावरण मिलाइदिन गाउँपालिकाले मन्त्री लम्सालमार्फत सरकारसँग आग्रह गरेको छ।

यसका साथै गाउँपालिकाले दुर्गम भूगोल, सीमित स्रोतसाधन र प्राकृतिक जोखिमका कारण विकासका दृष्टिले विशेष प्राथमिकता आवश्यक रहेको भन्दै स्थानीय आवश्यकता र समृद्धिको आधारमा अघि सारिएका योजनालाई संघीय सरकारले विशेष प्राथमिकता दिई बजेट विनियोजन गरेर शीघ्र कार्यान्वयन गरिदिन पनि माग गरेको छ।

मालिकार्जुन गाउँपालिका भारतको पिथौरागढ जिल्लासँग जोडिएको तथा दैनिक घरायसी उपभोग्य सामग्रीसमेत भारतबाट आपूर्ति हुने भएकाले सीमामा देखिने असहजता समाधानका लागि आवश्यक सहजीकरण गरिदिन पनि गाउँपालिकाले अनुरोध गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.