दार्चुला । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस) दार्चुलाद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत पाँच जना प्रायोजित बालबालिकालाई दुईमहिने एडभान्स सिलाइ–कटाइ सीप विकास तालिम प्रदान गरिएको छ।
परियोजनाको सामाजिक–आर्थिक क्षेत्रअन्तर्गत महाकाली नगरपालिका–४, खलंगामा तीन जना प्रायोजित बालबालिकालाई जेठ २७ गतेदेखि साउन २७ गतेसम्म तालिम प्रदान गरिएको हो। तालिमको सहजीकरण चम्पा कुँवरले गरेको एकीकृत सामुदायिक विकास परियोजनाका परियोजना अधिकृत मनोरथ जोशीले जानकारी दिए ।
परियोजना अधिकृत जोशीका अनुसार मालिकार्जुन गाउँपालिका वडा–३, मडमा दुई जना प्रायोजित बालबालिकालाई जेठ २५ गतेदेखि साउन २५ गतेसम्म तालिम दिइएको थियो । मडमा सञ्चालित तालिमको सहजीकरण लक्ष्मी धामीले गरेको थिए ।
तालिमबाट पाँचै जना सहभागीले कपडा कटिङ, सिलाइ, तुरपाइ, प्रेस तथा सामान्य रूपमा सिलाइ मेसिन मर्मतसम्बन्धी सीप हासिल गरेका छन् ।
सिलाइ–कटाइको सीप आर्जन गरी यसलाई व्यवसायका रूपमा अघि बढाउन सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजनाले जनाएको छ।
तालिम सम्पन्न भएपछि प्रत्येक सहभागीलाई एक थान सिलाइ मेसिन, एक थान प्रेस र एक थान कैँची प्रदान गरिएको छ।
यसले सहभागीलाई सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जनको माध्यमका रूपमा सिलाइ व्यवसाय अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
