दार्चुला । दार्चुला सदरमुकाम खलंगाभन्दा माथिल्लो क्षेत्रका सडकको अवस्था सुधार तथा निर्माणमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पर्याप्त चासो नदिएको भन्दै व्यास र दुहुँ क्षेत्रका स्थानीयले असन्तुष्टि जनाएका छन्।
मन्त्री लम्साल दार्चुला भ्रमणमा आए पनि सदरमुकामभन्दा माथिल्लो क्षेत्रका सडकको अवस्था र त्यहाँ भइरहेका निर्माण कार्यप्रति राज्यको विशेष ध्यान नपुगेको स्थानीयको गुनासो छ। विशेषगरी व्यास र दुहुँ क्षेत्रका सडक वर्षायाममा थप जोखिमपूर्ण बने पनि सम्बन्धित निकायको पर्याप्त ध्यान जान नसकेको उनीहरूको भनाइ छ।
तिंकर सडक निर्माणमा भइरहेको ढिलाइ तथा न्यून बजेट विनियोजनका विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराउने तयारी गरे पनि समय अभावका कारण भेटेर आफ्ना माग राख्न नसकिएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोक बोहराले बताए।
उनका अनुसार व्यास क्षेत्रको सडक पूर्वाधारको अवस्था निकै कमजोर रहेकाले तिंकर सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता छ। सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले वर्षौंदेखि समस्या भोग्दै आएका छन्।
यसैबीच, खलंगामा स्थानीय बासिन्दा तथा विभिन्न प्रतिनिधिले महाकाली नदी कटान नियन्त्रण, खलंगा–काटै–दल्लेख सडक स्तरोन्नति तथा तिंकर सडक कालोपत्रेलगायतका माग समेटेर मन्त्री लम्साललाई मागपत्र बुझाएका छन्।
मागपत्र बुझ्दै मन्त्री लम्सालले एक महिनाभित्र परिणाम देखिने गरी काम अघि बढाउने आश्वासन दिएका छन्। स्थानीयले भने मन्त्रीको आश्वासन व्यवहारमा कार्यान्वयन हुनुपर्ने र सदरमुकामभन्दा माथिल्लो क्षेत्रका सडकलाई समेत प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन्।
