दार्चुला । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सुदूरपश्चिमका पहाडी जिल्लामा भौतिक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गरेका छन् । शुक्रबारदेखि सुरु भएको अनुगमनका क्रममा मन्त्री नेतृत्वको टोलीले डोटी, डडेल्धुरा, बैतडी र दार्चुलाका सडक तथा अन्य पूर्वाधार आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।
टोलीले महाकाली राजमार्ग, महाकाली कोरिडोर, सहजपुर–बोगटान सडक र भात्काडा–रेल सडकलगायत आयोजनाको अवस्था बुझेको छ । साथै, दार्चुलाको गोकुलेश्वर विमानस्थल र जिल्ला अस्पतालको समेत निरीक्षण गरिएको छ ।
जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाइ भएको भन्दै मन्त्री लम्सालले ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएका छन् । उनले नेपाल–भारत जोड्ने मोटरेबल पुलको समेत अवलोकन गरी पुल सञ्चालनबारे चासो राखेका छन् ।
टोलीमा रहेका रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश विष्टका अनुसार पूर्वाधारको अवस्था अनुगमनसँगै समस्या सुन्ने काम भइरहेको बताए ।
‘सुदूरपश्चिमका वर्षौंदेखि अलपत्र परेका आयोजनाको वास्तविक अवस्था बुझ्न र तीव्रताका साथ काम अगाडि बढाउन मन्त्रीज्यू नेतृत्वको टोली अनुगमनमा छ,’ विष्टले भने, ‘चार जिल्लाको अवस्था बुझ्ने काम भइसकेको छ । मन्त्रीज्यूको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्य सुधार भए बझाङ, बाजुरा र अछाम जिल्लाको पूर्वाधार विकासको अनुगमन पनि गर्छौं ।’
