दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ बोहरिगाउँस्थित घोप्टे टोलमा चट्याङ लाग्दा पाँच घरमा क्षति भएको छ ।
शनिबार साँझ करिब ६ बजेर ४० मिनेटमा परेको चट्याङका कारण स्थानीय गंगादत्त जोशी, पुष्पराज जोशी र देवदत्त जोशीको घरमा जडान गरिएको विद्युत् मिटर तथा विद्युत् लाइन जलेर क्षति भएको स्थानीय आशिष जोशीले जानकारी दिए ।
चट्याङका कारण अन्य घरमा समेत पशुचौपायामा क्षति पुगेको छ। चट्याङ लागेर रामदत्त जोशीको एउटा दुहुने गाई, जयानन्द जोशीको एउटा भैंसी र नारादेवी जोशीको एउटा बाख्रा मरेको स्थानीय जोशीले बताए ।
चट्याङबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको जनाइएको छ।
