दार्चुला । दार्चुलामा पहिरोपश्चात् हाल जोखिम घटेको देखिएको छ । अपिहिमाल गाउँपालिका–१, भट्टारस्थित आधा थुनिएको चौलानी नदीको बहाव शनिबार सामान्य देखिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वर्तराज पौडेलले जानकारी दिए ।
शुक्रबार (भदौ १९) पहिरोले नदी आधा थुनिँदा तल्लो तटीय क्षेत्रमा जोखिम बढेको थियो । हाल पानी आफ्नै गतिमा निकास भइरहेको उनले बताए ।
“नदीको तल्लो भूभागमा पानीको बहाव हेर्दा ठूलो उतारचढाव देखिएको छैन, सामान्य छ । त्यसैले नदी थुनिएको छैन भन्ने हो,” सीडीओ पौडेलले मालिकार्जुन खबरसित भने, “पानी आफ्नै गतिमा निकास भइरहेको छ ।”
पहिरो खस्न पनि रोकिएको र तत्काललाई थप जोखिम नदेखिएको उनले जानकारी दिए । नदी किनारमा केही गेग्य्रान थुप्रिए पनि त्यसको खासै असर नपरेको उनको भनाइ छ ।
“मानवीय र पशुचौपाया कसैलाई केही क्षति भएको छैन । जोखिममा रहेका आठ घरपरिवारलाई हिजो नै माथितिर सुरक्षित स्थानमा सारिएको छ, कोही आफन्तकोमा बस्नुभएको छ,” सीडीओ पौडेलले भने, “वडा कार्यालयले उहाँहरूको व्यवस्थापन गरिरहेको भनेर वडाध्यक्षज्यूले भन्नुभएको छ ।”
तर, अपिहिमाल बेसक्याम्प जाने पैदलमार्ग अवरुद्ध रहेको उनले स्पष्ट पारे । “गत वर्ष पनि पहिरो गएको ठाउँ रहेछ त्यो । अहिले अपिहिमाल बेसक्याम्प जाने पैदलमार्ग अवरुद्ध छ, त्यहाँ मोटरबाटो छैन,” उनले भने ।
पहिरो खसेको स्थान सदरमुकाम खलंगाबाट करिब १६–१७ घण्टाको दूरीमा रहेको उनले बताए । “सडक छैन, हिँडेर जानुपर्छ । पालिकाको केन्द्रसम्म पनि सडक पुगेको छैन,” उनले भने, “प्रहरी घटनास्थलमा पुगिसकेको छ ।”
