दार्चुला । अपिहिमाल गाउँपालिका–१ भट्टार गाउँ नजिकै पहिरो खसेपछि अपि बेस क्याम्प पदयात्रा तत्कालका लागि स्थगित गरिएको छ।
पहिरोका कारण पदमार्गमा क्षति पुग्नुका साथै चमेलिया नदीमाथिको काठेपुलसमेत जोखिममा परेपछि गाउँपालिकाले तत्काल पदयात्रा नगर्न अनुरोध गरेको हो।
शुक्रबार भट्टार गाउँ नजिकै चमेलिया नदीको केही भाग थुनिने गरी पहिरो खसेपछि उक्त क्षेत्रमा आवतजावत जोखिमपूर्ण बनेको गाउँपालिकाले जनाएको छ। पहिरो जाने क्रम हाल रोकिए पनि प्राकृतिक विपद्को जोखिम कायमै रहेकाले सावधानी अपनाउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर बिष्टले आग्रह गरेका छन्।
अपि बेस क्याम्प पदयात्राको बाटोमा पर्ने भट्टर क्षेत्र पहिरोले ठूलो क्षति पुर्याएको छ। यस्तै, पदमार्गकै अपिहिमाल–२ धनबोरा क्षेत्रमा चमेलिया नदीमाथि रहेको काठेपुलको एकापट्टिको भाग नदी कटानका कारण जोखिममा परेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले पुलबाट आवतजावत गर्दा भारी सामान नबोक्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। पहिरोको प्रत्यक्ष जोखिम रहेको क्षेत्रबाट पदयात्रीलाई तत्काल आवतजावत नगर्न र पुल हुँदै सामान ओसारपसार गर्ने खच्चरवालालाई समेत पुलबाट सामान नलैजान अनुरोध गरिएको छ।
काठेपुल निर्माणको काम भइरहेकाले निर्माण सम्पन्न नभएसम्म पदयात्रा स्थगित गर्न गाउँपालिकाले आग्रह गरेको हो। पुल तथा पदमार्ग निर्माणपछि मात्रै पदयात्रा पुन: सञ्चालन गर्न सहज हुने जनाइएको छ।
यसैबीच, पहिरोबाट बालीनालीमा भएको वास्तविक क्षतिको विवरण संकलन गर्न गाउँपालिकाका कृषि अधिकृत योगेन्द्र डाँगा र विपद् फोकल व्यक्ति नन्दन सिंह ठेकेरलाई प्रभावित क्षेत्रमा खटाइएको छ।
पहिरोका कारण विद्यालय जान कठिनाइ भएपछि अपिहिमाल–१ स्थित भवानी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जोखिम कम नहुँदासम्म सितीमै बस्ने व्यवस्था मिलाउन पहल गरिएको गाउँपालिकाले जनाएको छ।
प्रभावित भट्टर गाउँका स्थानीयका लागि त्रिपाल, म्याट्रेसलगायत आवश्यक सामग्रीसमेत गाउँपालिकाको टोलीमार्फत पठाइएको छ।

