दार्चुला । मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवस दार्चुलामा विभिन्न कार्यक्रम गरी मनाइएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दार्चुलाको संयुक्त आयोजनामा दिवस मनाइएको हो।
‘प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ सदरमुकाम खलंगामा जनचेतनामूलक र्याली आयोजना गरिएको थियो।
र्यालीमा प्रहरी टोली, स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो। र्यालीका सहभागीले मानव बेचबिखनविरुद्ध जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
‘मानव बेचबिखनको अन्त्य गरौँ, मानवको रक्षा गरौँ’, ‘लोभलालचमा नपरौँ’, ‘ओसारपसार रोकौँ’ र ‘सुनौलो भविष्यको आधार, मानव बेचबिखनबाट छुटकारा’ लगायतका सन्देशसहित र्याली निकालिएको थियो।
मानव बेचबिखन तथा ओसारपसारका घटनाविरुद्ध समुदायमा सचेतना फैलाउने र यसको नियन्त्रणमा सबै पक्षलाई एकजुट गराउने उद्देश्यले र्याली आयोजना गरिएको आयोजकले जनाएको छ।

