दार्चुला । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि दार्चुलाका तीन स्थानीय तहले २६ लाख ७१ हजार २४९ रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने भएका छन् ।
नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र लेकम गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन् ।
नौगाड गाउँपालिकाले मात्रै २२ लाख ७८ हजार २५९ रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिको सेवा–सुविधा तथा कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम कट्टा गरी सहयोग गर्ने निर्णय गरेको हो ।
नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर सिंह धामीका अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ सहयोग गरिनेछ । यस्तै, गाउँपालिका अध्यक्षको सेवा–सुविधाबाट २० हजार, उपाध्यक्षको सेवा–सुविधाबाट १२ हजार, वडा अध्यक्षहरूको सेवा–सुविधाबाट ३६ हजार, कार्यपालिका सदस्यहरूको सेवा–सुविधाबाट १८ हजार र गाउँसभा सदस्यहरूको सेवा–सुविधाबाट ३० हजार रुपैयाँ सहयोग गरिनेछ ।
त्यसैगरी गाउँपालिकामा कार्यरत अधिकृत तथा सहायकस्तरका कर्मचारी, कार्यालय सहयोगी, शिक्षक, करार कर्मचारी, विद्यालयका कर्मचारी तथा बालविकास सहजकर्ताको पारिश्रमिकबाट समेत निश्चित रकम कट्टा गरी सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।
यस्तै, मार्मा गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट २ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । मार्मा गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीबाट समेत आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जसअनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षले एक–एक महिनाको सेवा–सुविधा, वडा अध्यक्षहरूले १५ दिनको सेवा–सुविधा तथा कार्यपालिका सदस्यहरूले सात दिनको सेवा–सुविधा सहयोग गर्ने भएका छन् । राष्ट्रसेवक कर्मचारीका हकमा भने नेपाल सरकारले तोकेबमोजिमको रकम सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, लेकम गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट १ लाख ४२ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले अध्यक्षको मासिक सेवा–सुविधाबाट २० हजार, उपाध्यक्षको सेवा–सुविधाबाट १२ हजार, वडा अध्यक्षहरूको सेवा–सुविधाबाट ६ हजार, कार्यपालिका सदस्यहरूको सेवा–सुविधाबाट ३ हजार र गाउँसभा सदस्यहरूको सेवा–सुविधाबाट १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले दार्चुलाका स्थानीय तहहरूले आफ्नो विपद् व्यवस्थापन कोष तथा जनप्रतिनिधि र कर्मचारीको सेवा–सुविधाबाट रकम जुटाएर सहयोग गर्न थालेका हुन् ।
