दार्चुला । ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ अपिहिमाल गाउँपालिकामा ६२औँ राष्ट्रिय बाल दिवस २०८३ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ।
अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर ३ पाथास्थित श्री हिमालय आधारभूत विद्यालयको प्राङ्गणमा बाल दिवस मनाइएको हो।
कार्यक्रमको अध्यक्षता अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्रमुख तथा गाउँपालिकाका बाल कल्याण अधिकारी मदनराज जोशीले गरेका थिए।

गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा – ३ का अध्यक्ष गगन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको सहभागिता रहेको शिक्षा शाखा संयोजक मदनराज जोशीले जानकारी दिए ।
अपिहिमाल गाउँपालिका वडा – ३ मा सञ्चालित सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा आधारभूत तह (कक्षा १–५) स्तरीय हिसाब दौड प्रतियोगिता, नेपाली हिज्जे लेखन प्रतियोगिता तथा ‘हिज्जे प्रतियोगिता’ सञ्चालन गरिएको उनले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई आयोजकले बधाई तथा शुभकामना व्यक्त गरेको छ। साथै, बालबालिकाको प्रतिभा पहिचान, क्षमता विकास तथा सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
