दार्चुलामा देउवा पक्ष कांग्रेसले भन्यो– ‘विशेष महाधिवेशन’ असंवैधानिक

दार्चुला । नेपाली कांग्रेस दार्चुलाको १५औँ महाधिवेशन तयारी समितिले पूर्वसभापति शेरबहादुर देउवा पक्षको धारणा समर्थन गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई महाधिवेशन प्रक्रियामा एकताबद्ध भएर सहभागी हुन आह्वान गरेको छ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिमा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले जारी गरेको आधिकारिक अपिल तथा विज्ञप्तिप्रति जिल्ला कार्यसमितिको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व, पार्टी विधान, स्थापित मान्यता तथा केन्द्रीय समितिको निर्णयविपरीत हुने भनिएको ‘विशेष महाधिवेशन’ सम्बन्धी गतिविधिलाई असंवैधानिक र अवैधानिक दाबी गरिएको छ।

पार्टीभित्रको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रियामा रहेकाले अदालतको निर्णयबाट १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले न्याय पाउने विश्वाससमेत समितिले व्यक्त गरेको छ।

विज्ञप्तिमा विगतका राजनीतिक घटनाक्रम तथा आन्दोलनका क्रममा अस्वस्थता र शारीरिक समस्याका कारण देउवा देशव्यापी रूपमा सक्रिय हुन नसकेको उल्लेख गर्दै उपचारपछि स्वदेश फर्किएर पार्टी संगठन सुदृढीकरणका लागि देशभरका जिल्ला तथा क्षेत्रमा सार्वजनिक कार्यक्रम गरिरहेको जनाइएको छ।

देउवा पक्षले अघि सारेको महाधिवेशन कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँरनगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन तथा मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

दार्चुला कांग्रेसले जिल्लाका महाकाली र शैल्यशिखर नगरपालिका तथा व्यास, दुहुँ, मालिकार्जुन, लेकम, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिका क्षेत्रका सम्पूर्ण साधारण सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा आम कार्यकर्तालाई महाधिवेशन तयारीमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ।

पार्टीभित्र अनुशासन, आन्तरिक लोकतन्त्र र वैधानिकताको रक्षा गर्दै पार्टी एकतालाई सुदृढ बनाउन पालिका तथा वडा तहका नेता–कार्यकर्ता एकजुट भएर अघि बढ्ने विश्वाससमेत विज्ञप्तिमा व्यक्त गरिएको छ।

विज्ञप्तिमा व्यक्त धारणा भने दार्चुला कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको पक्ष रहेको जनाइएको छ। कांग्रेसभित्र महाधिवेशनको वैधानिकता तथा नेतृत्वसम्बन्धी विषयमा विभिन्न पक्षबाट फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.