दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–५ बरमुडेमा रहेको लटिनाथ आधारभूत विद्यालयमा आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक लेखापरीक्षण समितिका संयोजक चाँदनी रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ५ का वडा सदस्य कल्याण सिंह डाँगा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा मालिकार्जुन माध्यमिक विद्यालय, आगरका प्रधानाध्यापक बीरेन्द्र सिंह डाँगाको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद विष्टले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणअनुसार विद्यालयको बैंक खातामा हाल १ लाख ३ हजार रुपैयाँ मौज्दात रहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव सिंह डाँगा, व्यवस्थापन समितिका अन्य पदाधिकारी, शिक्षक–अभिभावक संघका पदाधिकारी तथा ठूलो संख्यामा अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयका विभिन्न समस्या तथा चुनौतीबारे आफ्ना धारणा राखेका थिए।
अभिभावकहरूले विशेषगरी विद्यालयमा शौचालय निर्माण तथा शिक्षक र कर्मचारीको अभावजस्ता समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
विद्यालयले जनाएको छ कि कार्यक्रममा उठेका सुझाव तथा समस्यालाई सम्बोधन गर्दै विद्यालयको शैक्षिक वातावरण सुधार गर्न आवश्यक पहल गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
