दार्चुलामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह, हिमाली क्षेत्रमा हिमपातको जोखिम

अपिहिमाल पर्यटन महोत्सवमा सहभागी हुनेलाई विशेष आग्रह

दार्चुला । बंगालको खाडीमा विकसित भइरहेको शक्तिशाली चक्रवात ‘अर्नव’को प्रभावले देशका विभिन्न भागसहित सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कात्तिक १२ गते बिहीबार रातिदेखि १४ गते शनिबारसम्म सम्भावित प्रतिकूल मौसमलाई मध्यनजर गरी आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको हो।

नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अर्नव’ चक्रवात अत्यन्त शक्तिशाली बन्दै गएको र यसको प्रभावले देशका विभिन्न भागसँगै सुदूरपश्चिमका केही स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्रशासनले जनाएको छ।

सम्भावित जोखिम न्यूनीकरण गर्न प्रशासनले उच्च सतर्कता अपनाउन तथा पूर्वतयारीका काम गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
प्रशासनले हिमपातको उच्च जोखिममा रहेका छाङरु, टिंकर, व्याँस र अपिहिमाललगायत हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक खाद्यान्न, दाउरा तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्था गरी घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ।

त्यस्तै, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र पहिल्यै गइसकेका व्यक्तिलाई जोखिम अवधिभर सुरक्षित स्थानमा बस्न भनिएको छ। नदी किनार तथा तटीय क्षेत्रमा जोखिम हुन सक्ने भएकाले त्यस्ता स्थानमा नजान र गइसकेका व्यक्तिलाई सुरक्षित स्थानमा फर्किन प्रशासनले अनुरोध गरेको छ।

पाकेको धानबाली काट्ने तथा भित्र्याउनेलगायतका कृषि कार्य सकेसम्म कात्तिक १२ गते बिहीबारअघि नै सम्पन्न गर्न पनि आग्रह गरिएको छ। प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सूचनामा उल्लेख छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई सर्वसाधारणलाई सचेत गराउन र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ।
अपिहिमाल पर्यटन महोत्सवमा सहभागी हुनेलाई विशेष आग्रह
अपिहिमाल गाउँपालिकामा कात्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने ‘अपिहिमाल पर्यटन महोत्सव, २०८३’ मा सहभागी हुन जाने पर्यटक तथा अन्य महानुभावलाई पनि प्रशासनले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

कात्तिक १२ देखि १४ गतेसम्मको मौसम र सम्भावित हिमपातलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गरेर मात्र महोत्सवस्थलतर्फ प्रस्थान गर्न सूचनामा भनिएको छ।

प्रशासनले मौसमसम्बन्धी अद्यावधिक पूर्वानुमान तथा चेतावनीको पालना गर्न र आपत्कालीन अवस्थामा उद्धार तथा सहयोगका लागि सम्बन्धित निकायमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा हस्ताक्षरित सूचनामार्फत जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.