अपिको बेसक्याम्पमा पर्यटन उत्सव, भाइरल मैदानमा क्रिकेट हुँदै (फोटो फिचर)

दार्चुलाको अपि हिमाल आधार शिविरमा पर्यटन प्रवर्द्धनसँगै खेलकुद, साहित्य, संस्कृति र जलवायु परिवर्तनका मुद्दालाई जोडेर पर्यटन उत्सव सुरु भएको छ । अपि हिमाल गाउँपालिका– १ स्थित अपि हिमालको आधार शिविरमा उत्सव सुरु भएको हो ।

उत्सवको सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गरेका हुन् । उद्घाटनका लागि मुख्यमन्त्री भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावल र सभामुख भीमबहादुर भण्डारी हेलिकोप्टरमार्फत अपि हिमाल पुगेका थिए ।

Api-Himal-Mahotsav-(2)-1793714433.jpg
अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार उत्सव १९ कात्तिकसम्म सञ्चालन हुनेछ । तीन दिनसम्म चल्ने उत्सवमा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, योग तथा ध्यान शिविर र जलवायु संवाद आयोजना गरिनेछ ।

Api-Himal-Mahotsav-(4)-1793714434.jpg
उत्सवको पहिलो दिन प्रदेश तथा राष्ट्रियस्तरका साहित्यकार र कलाकारको सहभागितामा साहित्यिक गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन् । दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अपि बेसक्याम्पको मैदानमै क्रिकेट प्रतियोगिता आयोजना हुने अध्यक्ष बोहराले जानकारी दिए ।

अपि हिमालको काखमा क्रिकेट खेल्ने यो प्रयासले उच्च हिमाली क्षेत्रमा खेल पर्यटनको सम्भावनासमेत उजागर गर्ने बोहराले बताए ।

Api-Himal-Mahotsav-(3)-1793714434.jpg
त्यस्तै, उत्सवको तेस्रो दिन अपि हिमाल क्षेत्रलाई ‘वेलनेस टुरिज्म’ अर्थात् स्वास्थ्य तथा मानसिक शान्तिका लागि गरिने पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले योग तथा ध्यान शिविर सञ्चालन गरिनेछ । उत्सवमा जलवायु परिवर्तनसम्बन्धी विशेष संवादसमेत आयोजना हुनेछ ।

अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिने संवादमार्फत जलवायु परिवर्तनले नेपालको उच्च हिमाली क्षेत्रमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने लक्ष्य राखिएको छ ।

Api-Himal-Mahotsav-(5)-1793714434.jpg
अध्यक्ष बोहराका अनुसार अपि हिमाल क्षेत्रको पर्यटन विकास, स्थानीयवासीको जीविकोपार्जनमा सुधार, रोजगारी सिर्जना र जलवायु अनुकूलनका कार्यक्रम प्रवर्द्धन गर्नु उत्सवका मुख्य उद्देश्य हुन् । पछिल्लो समय यस क्षेत्रमा वार्षिक करिब ५ हजार पर्यटक पुग्ने गरेका छन् । गाउँपालिकाले यस वर्ष पर्यटकको संख्या बढाएर १० हजार पुर्‍याउने लक्ष्य लिएको छ ।

सुदूरपश्चिमको सबैभन्दा अग्लो अपि हिमाल समुद्री सतहबाट ७ हजार १ सय ३२ मिटर उचाइमा छ । प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा अहिले पनि सीमित पर्यटक मात्रै आधार शिविरसम्म पुग्ने गरेका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.