करार कर्मचारीको तलब भुक्तानी गर्न वडा अध्यक्ष ठगुन्नाको अल्टिमेटम
दिनभित्र तलब नदिए कडा कदम चाल्ने चेतावनी
दार्चुला । शैल्यशिखर नगरपालिकामा कार्यरत करार कर्मचारीहरूले हालसम्म तलब नपाएको विषयलाई लिएर शैल्यशिखर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम सिंह ठगुन्नाले असन्तुष्टि व्यक्त गरेका छन्।
वडा अध्यक्ष ठगुन्नाले आफ्नो फेसबुकमार्फत करार कर्मचारीहरूको तलब भुक्तानी तत्काल गर्न नगरपालिकालाई आग्रह गर्दै दुई दिनभित्र हालसम्मको तलब भुक्तानी नभए कडा कदम चाल्ने चेतावनी दिएका छन्।
उनले मंसिर १९/२० गतेसम्म पनि नगर करारका कर्मचारीलाई तलब खुवाउने व्यवस्था नगरिए त्यसको परिणाम भोग्नुपर्ने उल्लेख गरेका छन्।
नगरपालिकाको बजेट केही जनप्रतिनिधि र कर्मचारीको मात्रै नभई समग्र नगरपालिकाको भएको भन्दै उनले करार कर्मचारीहरूको पारिश्रमिक रोकिराख्नु उचित नभएको आशय व्यक्त गरेका छन्।
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “तपाईंहरूले नगर करारका कर्मचारीलाई तलब खुवाउने बाटो खुलाउनुभएन भने तपाईंहरूको हालत के हुन्छ, पछि थाहा हुन्छ। यो तपाईंहरूको बाउले कमाएको पैसा होइन, शैल्यशिखर नगरपालिकाको बजेट हो।”
वडा अध्यक्ष ठगुन्नाले दुई दिनभित्र हालसम्मको करार कर्मचारीको तलब भुक्तानी नभए बजेट रोकेर राख्नेहरूमाथि कडा प्रतिक्रिया जनाउने चेतावनीसमेत दिएका छन्। नगरपालिकाका करार कर्मचारीहरुले एक बर्ष सम्म तलब नपाएको उहाँले जानकारी दिनुभयो ।
करार कर्मचारीको तलब भुक्तानीमा भइरहेको ढिलाइबारे नगरपालिकाको आधिकारिक धारणा र तलब रोकिएको कारण भने सार्वजनिक हुन बाँकी छ।

