दार्चुलामा बजार अनुगमनका क्रममा उपभोक्ता हितविपरीत कार्य गर्ने तीन वटा फर्मलाई ७ हजार रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, महाकाली नगरपालिका तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधिसहितको टोलीले बजार अनुगमन गरेको हो।
अनुगमन टोलीले महाकाली नगरपालिकाको गल्फै र बसपार्क क्षेत्रका १७ वटा पसल तथा होटल रेस्टुरेन्टमा अनुगमन गरेको थियो। सो क्रममा करिब २ हजार रुपैयाँ बराबरको सामान जफत गर्नुका साथै उपभोक्ता हितविपरीत कार्य गर्ने तीन फर्मलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार जरिवाना गरिएका फर्महरूमा गल्फैस्थित जय माँ समैजी प्रतिभा चाउमिन उद्योगलाई ५ हजार रुपैयाँ तथा बिरेन्द्रवन (बसपार्क) क्षेत्रका बम होटल एण्ड मदिरा पसल र दुर्गा जैतकोट दामनाकोट बम होटललाई जनही १ हजार रुपैयाँ जरिवाना गरिएको छ।
तीनवटै फर्मलाई उपभोक्ता हित प्रतिकूल कार्य गरेको कसुरमा कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बजारमा उपभोक्ताको अधिकार संरक्षण, गुणस्तरीय वस्तु तथा सेवा उपलब्धता सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।
