दार्चुला । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दार्चुला जिल्ला अस्पतालको निर्माण कार्यले तीव्रता पाएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत अस्पताल निर्माणको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै उनले हालसम्म करिब ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका हुन्।
साउन अन्तिम साता सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षणका क्रममा दार्चुला जिल्ला अस्पतालको निर्माण कार्य अलपत्र अवस्थामा देखिएपछि मन्त्री लम्सालले सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।
त्यसपछि मन्त्रालयको निरन्तर सुपरिवेक्षण र अनुगमनका कारण निर्माण कार्यले गति लिएको उनको भनाइ छ। अस्पतालको स्ट्रक्चरल (संरचनागत) काम सम्पन्न भइसकेको छ भने भित्री प्लास्टर, आल्मुनियम तथा विद्युतीय जडानको अधिकांश काम सकिएको उनले बताएका छन्।
त्यस्तै, अस्पतालको बाहिरी प्लास्टर गर्ने कामसमेत अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिएका छन्।
निरन्तरको अनुगमन र पहलपछि अस्पताल निर्माणले गति लिएको उल्लेख गर्दै उनले निर्धारित समयभित्रै अस्पताल सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको बताएका छन्।