दार्चुला । डिभिजन वन कार्यालय दार्चुलाले वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउन निर्देशन दिएको छ । कार्यालयले शुक्रबार आज सार्वजनिक सूचना जारी गर्दै वन क्षेत्रभित्र निर्माण गरिएका संरचना हटाई अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको हो ।
कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतीबाली लगाउने तथा वन क्षेत्रमै बसोबास गर्ने गतिविधि भइरहेको पाइएको छ । यस्ता गतिविधिले वन, वातावरण, जैविक विविधता तथा पारिस्थितिकीय सेवामा प्रतिकूल प्रभाव पार्ने कार्यालयले जनाएको छ ।
वन क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्न तथा विकास निर्माणका कार्य सञ्चालन गर्न वन ऐन, २०७६ को दफा ४२ र वन नियमावली, २०७९ को नियम ८ बमोजिम जग्गाको भोगाधिकार प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको सूचनामा उल्लेख छ ।
तर, कानुनी प्रक्रिया पूरा नगरी वन क्षेत्र अतिक्रमण गरी संरचना निर्माण गर्ने तथा खेतीपाती र आवादी गर्ने कार्य भइरहेको भन्दै कार्यालयले यस्ता गैरकानुनी गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।
वन तथा जैविक विविधताको संरक्षण, वन अतिक्रमण नियन्त्रण र वन क्षेत्रको पुन:स्थापनाका लागि वन क्षेत्रभित्र निर्माण गरिएका अवैध भौतिक संरचना हटाई अतिक्रमित क्षेत्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको छ ।
कार्यालयले जारी गरेको सूचनाको अवज्ञा गरी वन क्षेत्रभित्र बनाइएका भौतिक संरचना नहटाए तथा अतिक्रमित क्षेत्र खाली नगरे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।
