दार्चुला । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताबमोजिम काम नगर्ने तथा लापरबाही गर्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।
कार्यालयको मंसिर १० गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई १ वर्षदेखि २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखिएको हो । यो प्रतिबन्ध सूचना प्रकाशित भएको मिति (मंसिर ११ गते) देखि नै लागू भएको छ ।
कालोसूचीमा परेसँगै यी कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सरकारी वा सार्वजनिक निकायको खरिद तथा बोलपत्र प्रक्रियामा भाग लिन पाउने छैनन् । सम्बन्धित सार्वजनिक निकायहरूको सिफारिसका आधारमा अनुगमन कार्यालयले उक्त कारबाही प्रक्रिया अघि बढाएको हो ।
सार्वजनिक सूचना अनुसार, काठमाडौं उपत्यका खानेपानी (आयोजना कार्यान्वयन निर्देशनालय) को सिफारिसमा रमेश सुवेदी, परवेज खान र शारदा प्रसाद अधिकारी मुख्य व्यक्ति रहेको सीपेल–शैलुङ जेभीलाई २ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।
यसैगरी, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना हर्कपुर, ओखलढुङ्गाको सिफारिसमा रोहित कुमार गाडिया मुख्य व्यक्ति रहेको जीबी मेटल क्राफ्ट इन्डस्ट्रिज एण्ड सप्लायर्स प्रालि, वीरगञ्ज लाई पनि साढे दुई वर्षकै लागि प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै, दुई वर्षका लागि कालोसूचीमा पर्नेहरूमा सान्नीत्रिवेणी गाउँपालिका कालिकोटको सिफारिसमा सुजन खड्का र अवराज शाही मुख्य व्यक्ति रहेको हेभन–निसान जेभी, पूर्वाधार विकास कार्यालय उदयपुरको सिफारिसमा दीपक लामा तामाङको नबिता एण्ड लोप्चन कन्स्ट्रक्सन प्रालि, कमल गाउँपालिका झापाको सिफारिसमा पार्वता ढकालको आरयुपिएस कन्स्ट्रक्सन प्रालि र थलरा गाउँपालिका बझाङको सिफारिसमा विक्रम बहादुर बुढा मुख्य व्यक्ति रहेको बाल्ट्रा पेट्रोकेमिकल प्रालि रहेका छन् ।
यसका साथै, नेपाल खानेपानी संस्थान, बुटवल खानेपानी आयोजनाको सिफारिसमा विष्णु सिंह धामी मुख्य व्यक्ति रहेको दार्चुलाको बीएमआर कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
