संसद बजेट अधिवेशन अन्योलमा

दार्चुला । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि संसदको बजेट अधिवेशन अन्योलमा परेको छ ।संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसको १५ दिन अगाडि नै सरकारको नीति तथा कार्यक्रममाथि छलफल र पूर्व बजेट छलफल हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनका कारण बजेट अधिवेशन बोलाउन ढिलो हुँदा पूर्व बजेट छलफलमा पर्याप्त समय नपुग्ने देखिएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बजेट अधिवेशन अघिल्ला वर्षहरुमा बैशाखको तेस्रो, चौथो हप्ता बोलाइने गरिएकोमा यस वर्ष बैशाख ३० गते पछि मात्रै हुनसक्ने सम्भावना रहेको बताउनु हुन्छ ।

पूर्व बजेट छलफल निर्वाचन अगाडिदेखि नै आरम्भ गरेर निर्वाचनपछि निरन्तरता दिन सकिने विकल्प रहेको बताइएको छ । त्यसो गर्न नसकेको अवस्थामा छलफलको समय घटाएर अघि बढ्नुपर्ने प्रवक्ता पाण्डेले बताउनुभयो । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा छलफलको सुझाव ग्रहण गर्ने हो भने पाँच दिनको छलफलले पुग्ने बताउनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.