दार्चुला । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गर्नुभएको छ। ‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ’, मंगलबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले भन्नुभयो । अहिलेको गठबन्धनले नै चुनाव गराए पनि आफ्नो पार्टीलाई मान्य हुने ओलीको धारणा छ । ओलीले अहिलेको राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने धारणा राख्नुभयो ।
ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपनि दुबै पटक सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । तर ओलीले अहिलेको संसदले ठीकसँग काम गर्न नसकेको भन्दै ताजा जनादेशमा जानुको विकल्प नभएको दाबी गर्नुभयो।
अर्को प्रसंगमा ओलीले जेट दुईजना पाइलटले चलाउने भएपनि पार्टी नचल्ने रहेछ भन्ने पाठ सिकिएको भन्दै अब चुनाव जितेर एउटै पाइलटले ५ वर्षसम्म सरकार चलाउने बताउनुभयो । ‘जेट दुई जना पाइलटले चलाउँछन् । तर पार्टी दुई पाइलटले चलाउँदा चल्दैन रहेछ’, ओलीले भने, ‘सरकार ५ वर्ष चलेन अब चुनाव जितेर एउटैले चलाइन्छ ।’