दार्चुला – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिनुभयो ।
विश्व मुटु दिवसको अवसरमा बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले अहिले दैनिक तीन लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने काम गरिरहेको बताउनुभयो । वर्तमान सरकारले आफ्नो झन्डै तीन महिने कार्यकालमा एक करोड थप खोप लगाउने काम गरेको उहाँको भनाइ छ ।
राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि एक करोड खोप सुनिश्चित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘झन्डै तीन महिनाको अवधिमा एक करोड थप खोप लगाइ सकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले एक करोेड ७७ लाख खोप ल्याइसकेका छौँ । यो दशैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु । अहिले दिनमा तीन लाख जनतालाई खोप लगाएका छौँ । अग्रपङ्क्तिमा खटिएकाहरूलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १४ वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ ।