ओलीले प्रचण्डप्रति आक्रोश पोखे

दार्चुला-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोखेका छन्। ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनको अन्त्यमा प्रतिनिधिबाट उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले प्रचण्डप्रति आक्रोश पोखेका हुन्।

ओलीले भने एमालेविरुद्ध आक्रमणका कुरा हामी सुनिरहेका छौँ‚ हिजो पनि दुई दिनअघि पनि। २०६४ मा जस्तै मतपत्र च्यातेर हुन्छ कि बत्ती निभाएर हुन्छ। जसरी हुन्छ कब्जा गरेर जित्नुपर्‍यो भनेर लागिरहेका छन्। हामीले मतपत्र च्यात्ने र बत्ती निभाउने वातावरण बनाउन दिँदैनौँ। त्यसविरुद्ध तपाईंहरू लाग्नुहोस्।’

ओलीले कार्यकर्तालाई कसैलाई अन्याय नगर्न र गरेमा नझुक्न निर्देशन समेत दिए।

‘हामी अन्याय र धाँधली गर्दैनौँ। कसैले गर्छ भने हामी झुक्दैनौँ। गुण्डागर्दी पनि गर्दैनौँ‚ कसैले गर्छ भन्ने हामी झुक्दैनौँ। तपाईंहरू त्यसविरुद्ध सचेत भएर लाग्नुहोस्’‚ ओलीले भने।

त्यसो त शनिबार माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए। एमाले नेता, कार्यकर्तालाई जाली र फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्षसमेत सुनाएका थिए।

प्रचण्डले भनेका थिए, केपीको हातमा नेतृत्व छ। उनले फेरि एकचोटि माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन्। डेढ वर्षभित्र हामी सरकारमा जान्छौँ भनेका छन्। देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन। यी जाली फटाहाले अहिले हामीलाई हेप्न खोजेका छन् नि।’

प्रचण्डले नेता कार्यकर्तालाई एमालेका नेता तथा कार्यकर्ताको सातो खाने निर्देशन दिएका थिए। उनले भने पहिले माओवादी आयो है भनेपछि जाली फटाहा थर्रर्र हुन्थे। छाती खोलेर भन्नु हामीले ल्याएको हो गणतन्त्र। हामीले बनाएको हो संविधान। यिनीहरू विरोधी हुन् भन्दै हिँड्नुहोस्।’

प्रचण्डले पार्टीका नेता, कार्यकर्तालाई एमाले गणतन्त्रविरोधी, संघीयताविरोधी रहेको प्रचार गर्दै अबको डेढ वर्षसम्म जनतामा जान सचेत गराएका थिए।

Leave A Reply

Your email address will not be published.