संकलित रकमबाट लटिनाथ, मालिकार्जुन मन्दिर पुनः निर्माण र सौन्दर्यीकरण

दार्चुला- आर्थिक संकलन अभियान संचालन गरेर दार्चुलाको शैल्यशिखर नगरपालिका–७ खोल्सीमा धार्मिक स्थल मन्दिरमा पुनः निर्माण र सौन्दर्यीकरण गरिएको छ ।

देश विदेशमा रहेका स्थानीय युवाहरुको अगुवाईमा आर्थिक अभियान संचालन गरेर त्यहाँस्थित लटिनाथ र मालिकार्जुन स्वामीको मन्दिरमा संरचना निर्माण र सौन्दर्यीकरण गरिएको हो । सामाजिक सञ्जालमार्फत आर्थिक रकम संकलनका लागि लटिनाथ मन्दिर पुनः निर्माण तथा सौन्दर्यीकरण नामक वृहत अभियान संचालन गरिएको अभियन्ता कपुर विष्टले जानकारी दिए ।

सो अभियानमार्फत ५ लाख ६१ हजार ७ सय ७२ रुपैयाँ संकलन भएको उनले बताए ।संकलित रकमबाट मन्दिरका विभिन्न संरचना निर्माण गरिएको र निर्माणमा लाग्ने सामाग्री खरिद तथा ढुवानी कार्यमा खर्च गरिएको बताइएको छ ।

मन्दिर प्राङ्गणमा टायल बिछ्याउने, परिषरमा फलामे रेलिङ निर्माण, गेट निर्माण, चौतारा निर्माण र उज्यालो बत्तीको व्यवस्थापन गरिएको छ । यस्तै संकलित रकममध्ये ४ लाख ९७ हजार ६ सय १० रुपैयाँ खर्च भइसकेको तथा ६४ हजार १ सय ७२ रुपैयाँ कोषमा जमा रहेको जनाइएको छ ।

अभियानले लिएको लक्ष्यअनुसार बाँकी रहेको भान्साघर निर्माण लगायत मन्दिरको जीर्ण भण्डारीघर (भणारीघर) र मन्दिरसमेत पुनः निर्माण गर्ने गरी तयारी थालिएको अभियन्ता विष्टले बताए ।

Leave A Reply

Your email address will not be published.