दार्चुलामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने
खोप अभियान फागुन १३ देखि १७ गतेसम्म
दार्चुला- दार्चुलामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान संचालन हुने भएको छ । जिल्लाका नियमित खोप केन्द्रमार्फत फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । खोप सम्बन्धी जिल्लामा स्वास्थ्यकर्मीहरुलाई तालिम दिइरहेको उनले बताए ।
दादुरा–रुबेला खोप १ सय ४८ नियमित खोप केन्द्रमार्फत दिइनेछ । यसमा २ सय जना स्वास्थ्यकर्मी, ४ सय स्वयंसेवक खटिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लामा अनुमानित ११ हजार २९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर बिरेन्द्र भट्टले बताए ।
दार्चुलासहित ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्म र अन्य जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने जनाइएको छ । नेपालमा दादुरा–रुबेला रोग उल्मुलन सन् २०२६ सम्म गर्ने सरकारको लक्ष्य रहेको छ ।
दादुरा–रुबेला खोप अभियानबारे जिल्ला स्वास्थ्य कार्यालयले बिहीवार खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रियासमेत गरेको छ ।