दार्चुला– उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट दार्चुला जिल्ला अस्पतालकी नर्स बबिता विष्ट सम्मानित भएकी छन् । ऊनी छैटौ तहकी नर्सिङ अधिकृत हुन् ।
मंगलवार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दार्चुला जिल्ला अस्पतालमा कार्यरत विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । यो पुरस्कार राशी १ लाख रुपैयाँको रहेको छ । वि.सं. २०७६ सालदेखि दार्चुला अस्पतालमा कार्यरत उनी त्यसअघि महाकाली अस्पतालमा कार्यरत थिइन् ।
स्वास्थ्य सेवा पुरस्कारबाट कालिकोटमा कार्यरत छैटौं तहका सिअहेब दीर्घबहादुर नेपाली, २४ वर्षदेखि सुर्खेत अस्पतालमा कार्यरत गाइनोकोलोजिष्ट डा. केशरबहादुर ढकाल, छैटौं तहकी फार्मेसी निरिक्षक सुष्मा थपलिया र बारामा कार्यरत पाँचौ तहकी सिअनमी किरणकुमारी सम्मानित भएका छन् । स्वास्थ्य सेवा पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।