फेवरेट मिडियाले दार्चुलामा साँस्कृतिक तथा व्यापार मेला महोत्सव आयोजना गर्दै

दार्चुला– फेवरेट मिडिया प्रालिले दार्चुलामा ‘साँस्कृतिक तथा व्यापार मेला महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ । जिल्ला सदरमुकाम खलंगामा महोत्सव आयोजना गरिने बारे शुक्रवार पत्रकारसम्मेलन गरी जानकारी गराइएको हो ।

“भाषा, कला र भेषभुषा दार्चुलाको पहिचान, संस्कृति संरक्षणमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ चैत्र २ गतेदेखि चैत ११ गतेसम्म मेला महोत्सव आयोजना गरिने आयोजक फेवरेट मिडिया प्रालिका प्रवन्धक कृष्ण सिंह धामीले जानकारी दिए । महोत्सव जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिका–४ शिवनगर खेलमैदानमा हुनेछ ।

सँस्कृति संरक्षण सम्बद्धन तथा व्यापार व्यवसाय क्षेत्रको पहिचान र प्रचारप्रसार गर्ने उद्धेश्यले १० दिनसम्म संञ्चालन हुने मेला महोत्सवमा समग्र जिल्लाको व्यापार, कृषि, कला सँस्कृति तथा पर्यटन क्षेत्रको पहिचान हुने लक्ष्य लिइएको छ ।

मेला महोत्सवमा जडिबुटी प्रदर्शनी, पर्यटन प्रवद्र्धन, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, लघुउद्यम प्रदर्शनी, बाल उद्यम तथा सर्कस, साँस्कृतिक कार्यक्रम, स्थानीय परिकार लगायतका आकर्षण रहेको आयोजकले जनाएको छ ।

महोत्सव स्थलमा प्रवेशका लागि प्रति व्यक्ति टिकट १ सय रुपैयाँ र विद्यार्थी तथा जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा ६० रुपैयाँ टिकट शूल्क तोकिएको छ । साथै महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.