प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका कुंवर पक्राउ

दार्चुला– प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका महाकाली नगरपालिका१ दहका २३ वर्षीय उमेश कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका कुँवरलाई प्रहरीले आज दिउँसो महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको हो ।

कुँवरले श्रीमत धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो। घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

प्रहरीमाथि चक्कु प्रहार गरी सोही दिनबाट फरार रहेका कुँवरलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । कुँवर घटना घटेको दिनबाट भारतमा लुकिछिपी बसेको तथा सोमवार नेपाल प्रवेश गर्दा पुलघाट क्षेत्रबाट नियन्त्रणमा लिइएको उनले बताए । प्रहरी कुँवर फरार रहेदेखि विभिन्न सीमा नाका केन्द्रीत भइ खटिएको थियो । पक्राउ परेका कुँवरमाथि प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबरजस्तीकरणीको मुद्धा दर्ता गरेको छ।

Leave A Reply

Your email address will not be published.