दार्चुला– दार्चुलामा भिरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । सोमबार विहान करिब ११ः३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर एक प्रहरी जवानको ज्यान गएको हो । दार्चुला प्रहरीका अनुसार प्रहरी जवान सोहन चौधरीको भिरबाट लडेर ज्यान गएको हो ।
प्रहरी हिरासतमा रहेका जिल्लाको महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुँवरलाई बयानका लागि मुद्दा फाटमा लैजाने क्रममा कुँवर हतकडीसहित भागेका थिए । प्रहरीले उनलाई पछ्याउँदै समात्न खोज्दा भिरबाट लडेर प्रहरी जवान चौधरी गम्भीर घाइते भएका थिए ।
उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए । भिरबाट लडेर टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान चौधरीको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो ।
हिरासतमा रहेका कुँवर हतकडीसहित महाकाली नदि पारगरी भारततर्फ भागेका थिए । कुँवरलाई महाकाली नदी पारी पट्टी भारतमा रहेको (जीआर) ले नियन्त्रणमा लिई दार्चुला प्रहरीलाई बुझाएको छ । हिरासतमा रहेका कुँवर यसअघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका थिए ।
कुँवरलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । कुँवरले आफ्नै श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो ।

घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए ।