चैत महिना शुरु भएसँगै दार्चुलासहित सुदूरपश्चिमभरि ‘भिटौला’ पर्व शुरु

काठमाडौं– चैत महिना शुरु भएसँगै दार्चुला सहित सुदूरपश्चिमभरि भिटौला पर्व शुरु भएको छ । भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ । आजदेखि चेलीबेटीलाई भेट्ने दिन शुरु हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।

लेकमका इन्द्रदेव जोशीका अनुसार अहिले भिटौला पर्वको महत्व झन बढ्दै गएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्वजस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको छ । “अरु संस्कृति बरु छोड्दै गएको पाइन्छ”, उनले भने, “तर यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस गर्ने गर्छन् ।”

परम्परागत कथन अनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ । भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पु¥याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको जानकी मिश्र बताउँछन् ।

पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरी चेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको पण्डित भोजराज पन्त बताउछन् ।

भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमता अनुसार लुगा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ ।

चैत महिनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभरि एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने बताइएको छ ।

सामाजिक मूल्य, मान्यता, आदर्श आदिका संवाहक यस्ता किसिमका संस्कृति जीवन्त राख्नुपर्ने संस्कृतिका जानकार बताउँछन् । भौगोलिक विकटता, सञ्चार अभावमा बिहेपछि टाढा रहेका छोरीचेलीलाई माइती पक्षका भाइले वर्ष दिनमा एकपटक भेट्नुपर्ने परम्पराले सुख दुःख आदानप्रदानमा सहज बनाएको छ ।

Leave A Reply

Your email address will not be published.