दार्चुला । मंगलबार दिउँसो आएको हावाहुरीका कारण दार्चुलाको महाकाली नगरपालिका–१ लास्कु क्षेत्रमा विद्युत तार भाँचिँदा छापरी क्षेत्रसहित आसपासका बस्तीमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ।
विद्युत लाइन अवरुद्ध हुँदा छापरीस्थित नेपाल टेलिकमको सेवा समेत पूर्ण रूपमा बन्द भएको छ। जसका कारण जिल्लाको व्याँस, दुहु र नौगाड गाउँपालिकाका वडा नम्बर २ र ३ तथा महाकाली नगरपालिकाका वडा नम्बर १, २ र ३ का फोन सेवा प्रयोगकर्ता समस्यामा परेका छन्।
स्थानीयका अनुसार लगातार प्रतिकूल मौसमका कारण मर्मत कार्यमा ढिलाइ भएको बताइए पनि सम्बन्धित निकायको लापरबाहीका कारण विद्युत सेवा अझै सञ्चालनमा आउन सकेको छैन। सञ्चार सेवा बन्द हुँदा आकस्मिक अवस्था पर्दा सम्पर्क गर्ने अवस्था समेत नरहेको स्थानीयले गुनासो गरेका छन्।
यथाशीघ्र विद्युत लाइन मर्मत गरी सेवा सुचारु गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।विगत तीन दिनदेखि विद्युत् नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य हुनुका साथै मोबाइल चार्ज र इन्टरनेट सेवाबाट समेत वञ्चित हुनुपरेको स्थानीयहरुले जनाएका छन् ।