दार्चुला– राष्ट्रिय भूमि आयोग दार्चुलाले अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको दुहुँ गाउँपालिकाका अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
जिल्लामा पहिलो पटक दुहुँ गाउँपालिका वडा नम्बर ३ का १७ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको भूमि आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामीले जानकारी दिए । चैत्र ५ गते एक कार्यक्रमका बीच दुहुँ गाउँपालिका–३ ब्रह्मदेव बोहरीगाउँका १७ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
जिल्लाका नौ वटै स्थानीय तहबाट निवेदन आएकोमा नापजाँचको काम भइरहेको बताउँदै अन्य पालिकाका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने उनले बताए । अधूरा–अपूरा कार्य सम्पादन कार्यविधि, २०७७ अनुसार दुँहुका अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको र उनीहरुबाट ४ लाख २२ हजार ६ सय ८४ रुपैयाँ राजस्व संकलन गरिएको नापी कार्यालय दार्चुलाका प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।
आयोगले अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्यांकनलगायतका विभिन्न आधारमा राजस्व लिएर जग्गा उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै, भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले भने जग्गा प्राप्त गर्दा राजस्व तिर्नु नपर्ने व्यवस्था रहेको छ । यसैबीच बिहीवार मात्रै सरकारले साविकको राष्ट्रिय भूमि आयोग खारेज गरेको छ ।