दार्चुला : दार्चुला भन्सारबाट भारत खरी निर्यात सुरु गरिएको छ । मूल भन्सार कार्यालय भएपछि पहिलो पटक दार्चुला भन्सार कार्यालयबाट खरी भारत निर्यात गरिएको हो । जियो मिनिरल रिजर्भ्स प्रालिले जिल्लाको दुहुँ गाउँपालिका–५ स्थित खानी क्षेत्रबाट उत्खनन गरेको खरी बिहीबारबाट भारत निर्यात सुरु गरेको छ । बिहीबार प्रालिका निर्यातकर्तालाई भन्सार कार्यालयले एक कार्यक्रमका बीच सम्मान गर्दै निर्यात सुरु गरेको हो ।
पहिलो चरणमा २४ टन खरी भारत निर्यात हुने दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए । ‘जिल्लामा मूल भन्सार कार्यालय स्थापना पछि पहिलो पटक यहाँबाट भारत खरी निर्यात हुदैँछ, व्यापार सहजीकरणका कारण यो सम्भव भएको हो, उनले भने ।’ पहिलो पटक यस क्षेत्रबाट भारत खरी निर्यात भएको उनले बताए ।
छोटी भन्सारका रुपमा रहेको कार्यालय २०७७ भदौ १ गतेदेखि मूल भन्सार कार्यालयमा परिणत भएको थियो । यहाँबाट भारतीय बजारतर्फको निकासीको यो पहिलो प्रयास हो । यो खरी भारतको नैनीताल हल्दानी जाने बताइएको छ । यो नाका भएर उत्पादित ५०० टन भारत निर्यात गर्ने जियो मिनिरल रिज रिजर्भ्स प्रालिले जनाएको छ ।